काठमाडौं - नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्रीबाट भएको संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक रहेको उल्लेख गरे ।

नेपाली जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले लहडको भरमा संसद विघटनको निर्णय गरेको भन्दै थापाले त्यसलाई संविधानले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए।

उनले ट्वीट गरेका छन्, 'संविधान निर्माण गर्दा पाँच वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ । प्रधानमन्त्रीले लहडमा गरेको संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ ।

यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे व्याख्या भए पनि तीन वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससँगै सकिएको छ।'