निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै कानूनी कारबाही गर्छौँ : गृहमन्त्री अर्याल
काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको समयमा कुनै पनि गैरकानूनी वा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले नछाड्ने चेतावनी दिएका छन्।
आज बिहान बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा त्यस्ता गतिविधि नियन्त्रणगर्ने मात्र सीमित नरही कडा कानूनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन्।
उनले भने- 'त्यस्ता गतिविधि देखिए हामी नियन्त्रणमा मात्रै लिँदैनौँ, कानूनी कारबाही गर्छौँ। अनुसन्धान गर्छौँ अभियोजन गर्छौँ र अदालतमा पनि पेश गर्छौँ । उहाँहरू दण्डको भागीदार बन्नुपर्छ।'
अन्तरिम सरकारले गराउन लागेको यो निर्वाचन विगतका निर्वाचनभन्दा अझ सुदृढ, स्वच्छ र धाँधलीरहित हुने दाबी गर्दै उनले नागरिकलाई भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरिएको बताए ।
गृहमन्त्री अर्यालले थप भने- 'प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि एकीकृत सुरक्षा योजना कार्यान्वयनमा छ । सोही योजना अनुसार अहिले सबै मतदान स्थलमा सुरक्षा संयन्त्र परिचालित छन् । आवश्यकताअनुसार सुरक्षाको अवस्थालाई काबुमा राख्ने र सहजीकरण गर्ने तयारी अवस्थामा छ ।'
निर्वाचनलाई केवल प्रतिनिधि छान्ने प्राविधिक प्रक्रिया मात्र नभई राजनीतिक सुशासन सुदृढ गर्ने अवसरका रूपमा लिन उनले मतदातालाई आग्रह समेत गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस