मोदीको चेतावनी : मध्यपूर्व युद्ध लम्बिँदा विश्व संकट गहिरिने
काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा चुलिँदै गएको अमेरिका–इजरायल र इरानबीचको तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले युद्ध जारी रहिरहे यसको असर विश्वभर प्रतिकूल रूपमा फैलिने चेतावनी दिएका छन्। मंगलबार राज्यसभामा करिब २१ मिनेट सम्बोधन गर्दै मोदीले आगामी समय भारतसहित विश्वका लागि “ठूलो परीक्षा” बन्न सक्ने बताए।
उनले विशेषगरी व्यापार मार्गमा परेको असरबारे चिन्ता व्यक्त गर्दै भने,'हाम्रा जहाजहरू र भारतीय चालक दलहरू होर्मुजको मार्गमा फसेका छन्, यो निकै चिन्ताजनक अवस्था हो।'
प्रधानमन्त्री मोदीका अनुसार युद्धका कारण अन्तर्राष्ट्रिय व्यापार मार्गहरू अवरुद्ध हुन थालेका छन्, जसले ग्यास, पेट्रोलियम पदार्थ र मल जस्ता अत्यावश्यक वस्तुको आपूर्तिमा प्रत्यक्ष असर पारिरहेको छ।
उनले दीर्घकालीन असरबारे सचेत गराउँदै भने, 'यो द्वन्द्वले विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पार्न सक्छ, जसको असर लामो समयसम्म रहने सम्भावना छ।'
कोभिड–१९ महामारीको अनुभव सम्झाउँदै मोदीले संकटसँग जुध्न एकजुटता आवश्यक रहेको बताए।
उनले महामारीकै जस्तो ढाँचामा पुनः ‘अधिकार सम्पन्न समूह’ गठन गरिएको जानकारी दिँदै आपूर्ति शृङ्खला, पेट्रोल–डिजेल, ग्यास, मल र मुद्रास्फीति नियन्त्रणका लागि द्रुत र दीर्घकालीन रणनीति अपनाइने स्पष्ट पारे।

.gif)



फेसबुक पेज Like गर्नुहोस