लहान - रौतहट जिल्लाको राजपुर फरहदवा बमकाण्डका एक आरोपी आज पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामको ब्यूरो टोलीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर – ४ का ५५ वर्षीय मुक्ति साहलाई पक्राउ गरेको छ ।

भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका वडा नम्बर – ८ बाट शनिबार राति पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको उनले बताए ।

२०६४ साल चैतमा संविधानसभा निर्वाचन हुने अघिल्लो दिन बम बनाउँदा घाइते भएका मानिसलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा कांग्रेस सांसद मोहम्मद अफताव आलम हाल पुर्पक्षका लागि थुनामा छन् । सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण राजपुतको जाहेरीमा साह पनि अभियुक्त किटान गरिएको थियो ।

पक्राउ परेका साहले तत्कालिन कांग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका २–३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएको डीआईजी सिंहले बताए । त्यस क्रममा विस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५–१६ जना घाइते र २–३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनापछि साहले आलमकै निर्देशनमा मृतक र घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको राजा इँटा उद्योगमा लगी जलाएको बयान प्रहरी समक्ष दिएको प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।