काठमाडौं - प्रधानमन्त्री केपी ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकैले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको जिकिर दाहोर्याएका छन् ।

राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भए पनि ती मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको दाबी गरे । उनले भने, ‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ । बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो ।’

अरु कारणले मृत्यु भएकामा पनि पनि संक्रमण देखिए कोरोनाबाटै मरेको मान्नुपर्ने मापदण्ड डब्लुचओले बनाएकाले मात्र संख्या बढेको उनको जिकिर छ । २० जनाकै मृत्यु हुँदा पनि त्यो अरु धेरै देशको तुलनामा कम भएको तर्क प्रधानमन्त्री ओलीले गरे ।

उनले नेपालमा कोरोनाबाट हुने मृत्युदर विश्वको धेरै देशको तुलनमा निकै कम रहेको पनि बताएका छन् । नेपालमा प्रति १० लाखमा ०.७ प्रतिशतको मात्रै मृत्यु भएको भन्दै प्रधानमन्त्रीले नेपाल कोरोना संक्रमण र मृत्युमा दक्षिण एसियामा भुटानभन्दा मात्रै पछि रहेको बताए ।

पछिल्लो समय भारतबाट अत्यधिक मान्छे नेपाल आएकाले कोरोनाको संक्रमण वृद्धि भएको प्रधानमन्त्रीले बताए । उनले सरकारले कोरोना भाइरसको परीक्षण बढाउने तयारी गरिरहेको बताए ।