काठमाडौं - ‘विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण’ को नारासहित  बुधबार सातौँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ।

प्रदेश र स्थानीय तहमा समेत यही भदौ २६ गतेदेखि शुरु भएको दिवसको सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम भइरहेको छ भने असोज १ गते मूल समारोह समितिको कार्यक्रम हुँदैछ।

सप्ताहअन्तर्गत हाजिरीजवाफ, निबन्ध र कविता प्रतियोगिता, नवप्रवर्तनात्मक कार्यक्रम, संवाद, कला र आविष्कार प्रदर्शनी आदि गतिविधि भइरहेका छन्। 

दिवसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। कार्यक्रममा कक्षा १२ मा विज्ञान विषयमा उत्कृत अङ्क ल्याउने सात प्रदेशका सामुदायिक र निजी विद्यालयका एक–एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरिनेछ।  यसैगरी विज्ञान विषयमा कलम चलाउने दुई पत्रकार र नयाँ अनुसन्धान गर्ने संस्थालाई पुरस्कृत गरिने कार्यक्रम छ।