काठमाडाैं, संखुवासभा - संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न देखिएका लोकबहादुर कार्की भाइ नरेश कार्की अनुसन्धानमा तानिएका छन् । 

हत्या गरिएकी रञ्जना कार्कीको मोबाइल सेट हराएको थियो । अनुसन्धानका क्रममा घटनास्थलबाट हराएको मोबाइल सेट नरेशको साथबाट बरामद गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । 

हत्याकाण्डमा दाइलाई सहयोग गरेको आशंकामा प्रहरीले नरेशमाथि छानबिन थालेको प्रहरी निरीक्षक खतिवडाले बताए । लोकबहादुरका भाइ नरेशमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ । घटनाको अनुसन्धानका लागि १० जना प्रहरी टोली घटनास्थल उम्लिङ खोलागाउँमै रहेको उनले बताए ।

गत २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो । प्रहरीले एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा उम्लिङ खोला गाउँकै लोकबहादुर कार्कीलाई पाँच दिनपछि पक्राउ गरेर सार्वजनिक गरेको थियो । 

हत्यापछि उम्लिङ खोला गाउँ पुगेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी रुगम कुँवर, संघिय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहाल र संखुवासभाका डिएसपी लालध्वज सुवेदीसहितको टिम घटनास्थल पुगेको थियो ।