काठमाडौं - सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५ सय २५ बराबरको योगदान रकम जम्मा भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका छन् । कोषका अनुसार सूचीकृत रोजगारदाताको संख्या २३ हजार ४ सय ९० पुगेको छ । सूचीकृत योगदानकर्ताको संख्या ३० लाख ४३ हजार २ सय पुगेको हाे । कोषले २१ अर्ब २७ करोड एक लाख २० हजार २ सय ५२ बराबरकाे दावी भुक्तानी गरेको छ ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावीतर्फ तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४ सय ६२ उपलब्ध गराइएको छ ।दुर्घटना तथा अशक्तता सुरक्षा दावीतर्फ ३० करोड ४६ लाख ६ हजार ५ सय १४, आश्रित परिवार सुरक्षा दावीतर्फ ३८ करोड चार लाख २५ हजार २ सय १६ र अवकाश दावीतर्फ १७ अर्ब ६ करोड ४५ लाख ४१ हजार ६१ बराबर रकम उपलब्ध गराइएको हाे ।