काठमाडौं - काठमाडौंको वीर अस्पतालमा कार्यरत एक नर्स अर्का डाक्टरको घरमा मृत फेला परेकी छन् । कान्ति बाल अस्पतालका डाक्टर सुजन ढकालको घरमा उनको शव भेटिएको हो । उनी वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ रहेको र घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार उनीहरू एक-अर्काको प्रेममा रहेको र सुजनले विवाह गर्न नमानेपछि अनुमाले आत्महत्या गरेको प्रारम्भिक जानकारी आएको छ । काठमाडौं बोहराटारमा भएको घटनाबारे प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ ।

जानकारीअनुसार लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै ढकालकै घरमा पुगेर अनुमाले आत्महत्या गरेकी हुन् । केटाको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै श्रेष्ठले शनिबार केटाकै घर पुगेर ‘सुसाइड नोट’ लेखेपछि मृत्यु रोजेको बुझिएको छ ।

प्रहरीका अनुसार श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा प्रेमी ढकालको घरमा शव भेटिएको हो । घट्नाको प्रारम्भिक अनुसन्धानले शनिबार अपराह्न ३ः३० देखि ४ बजेको समयमा अनुमाले आत्महत्या गरिसकेको देखिन्छ ।