बलात्कारीलाई माफी दिनुपर्छ भनेपछि वकिलमाथि खनिइन् निर्भयाकी आमा
एजेन्सी - वरिष्ठ वकिल इन्दिरा जयसिंहले निर्भयाकी आमा आशा देवीसँग दोषीलाई माफी दिन आग्रह गरेकी छन् ।
जयसिंहले एक ट्विटमार्फत् दिल्ली सामूहिक बलात्कार काण्ड (निर्भया काण्ड) र हत्याका दोषीलाई माफी दिन भनेकी हुन् । उनले निर्भयाकी आमालाई सोनिया गान्धीको उदाहरण हेरेर दोषीलाई माफी दिन अनुरोध गरेकी हुन् ।
जयसिंहले सोनिया गान्धीले नलिनी (राजीव गान्धीको हत्याकी दोषी) लाई माफ गर्दै आफूले दोषीलाई फाँसीमा चढाउन नचाहेको बताएको उल्लेख गर्दै यस्तो आग्रह गरेकी हुन् ।
जयसिंहले आफू सधैं आशा देवीको साथमा रहेको बताउँदै मृत्युदण्डको विरुद्धमा रहेको समेत बताएकी छन् । तर आशा देवीले भने जयसिंहको भनाइप्रति आपत्ति जनाएकी छन् ।
‘इन्दिरा जयसिंह मलाई यस्तो सल्लाह दिने को हुन ? सारा देशले दोषीलाई फाँसी दिनु पर्छ भनिरहेको छ’, आशा देवीले आक्रोशित हुँदै भनिन्, ‘जयसिंह जस्ता मानिसका कारण नै बलात्कारका पीडितले न्याय पाइरहेका छैनन् ।’
‘इन्दिरा जयसिंहले यस्तो भन्ने हिम्मत कसरी गरिन् भनेर मलाई विश्वासै लागेको छैन । उनलाई मैले सुप्रिम कोर्टमा कैयौं पटक भेटेकी छु । उनले एक पटक पनि मेरो हालचालबारे केही सोधिनन् र अहिले दोषीको पक्षमा बोलिरहेकी छन्’, आशा देवीले थपिन्, ‘ यस्ता खालका मानिसले बलात्कारीलाई सहयोग गरेर आफ्नो गुजारा गरिरहेका छन् र यही कारणले बलात्कारका घटना रोकिएका छैनन् ।’
दिल्लीको पटियाला हाउस कोर्टले निर्भया सामूहिक बलात्कारका चारै दोषीलाई फेब्रुअरी १ गते बिहान ६ बजे फाँसी दिन भन्दै नयाँ डेथ वारेन्ट जारी गरेको छ ।
यसअघि अदालतले २२ जनवरीमा फाँसी दिन भन्दै पहिलो डेथ वारेन्ट जारी गरेको थियो ।दोषीहरुलाई ८ वर्षअघि दिल्लीमा भएको एक बलात्कारपछि भएको हत्या काण्डमा फाँसीको सजाय सुनाइएको हो । निर्भया काण्डमा दोषी अक्षय, मुकेश, विनय र पवन उक्त घटनामा दोषी पाइएका थिए ।
सन् २०१२ डिसेम्बर १६ गते वर्षीया ज्योति सिंहमाथि दिल्लीमा गुडिरहेको बसभित्र सामूहिक बलात्कार भएको थियो । आफ्ना साथी अविन्द्र प्रताप पाण्डेसँगै फिल्म हेरेर फर्किने क्रममा उनलाई एक समूहले बलात्कार गरेको थियो । बलात्कार भएको १३ दिनपछि सिंहको मृत्यु भएको थियो ।
ज्योति र अविन्द्र राति ९ः४५ बजे बस चढेर घर फर्कँदै गर्दा बसमा रहेका ४ जनाले ज्योतिलाई बलात्कार गरेका थिए । बस चढेपछि बसमा रहेका ४ जनासँग अविन्द्रको भनाभन भएको थियो ।
भनाभनपछि अविन्द्रलाई उक्त समूह (दोषीहरु) ले कुटेर बेहोस बनाएका थिए । त्यसपछि ज्योतिलाई बसको पछाडि लगेर सामूहिक बलात्कार गरेका थिए ।
अभियुक्तहरूले बेहोसका ज्योति र अविन्द्रलाई चलिरहेको बसबाट बाहिर सडकमा फालेका थिए । उक्त घटनामा गम्भीर घाइते भएका अविन्द्र भने बाँच्न सफल भएका थिए तर उपचारका क्रममा ज्योतिको मृत्यु भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस