काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दशैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

कोरोनाभाइरसले देश आक्रान्त भैरहेको बेला सांसदहरुले भत्ता लिनु लज्जास्पद भएको बताउँदै देउवाले पार्टीका सबै सांसदलाई सोमबार यस्तो निर्देशन दिएका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका कांग्रेसका सबै सांसदको खातामा आएको दशैं भत्ताबापतको रकम कोभिड-१९ उपचार कोषमा जम्मा गर्न संसदीय दलका नेता देउवाले निर्देशन दिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

कोरोना महामारीले सिंगो मुलुक संकटमा रहेको र सर्वसाधारण नागरिकलाई हातमुख जोड्न कठिन भइरहेका बेला सांसदहरूले तलबसहित दसैं भत्ता लिनु उचित नहुने भन्दै देउवाले यस्तो निर्देशन दिएको एक कांग्रेस नेताले बताए ।