झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबिच भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन् ।

बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो ।

नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उनको छोराछोरीले प्रदान गरेको उक्त जग्गामा अस्पताल निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज प्रसाईंले बताए ।

अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित छ जना चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छन्। जसमध्ये पालिकाले आफ्नो स्रोतबाट तीन जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ।

बाहिर र भित्र चिकित्सकीय सेवाअन्तर्गत अस्पतालमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसूति उपचार, शिशु तथा बाल स्वास्थ्य उपचार, सामान्य दन्त सेवा, प्राथमिक आँखा उपचार, प्रयोगशाला सुविधा, फार्मेसी सुविधा, एक्स रे सुविधा र मुटुको इको सेवा सञ्चालन भइरहेको छ।

आगामी साउन १ गतेदेखि अस्पतालमा २४ घण्टा उपचार र बर्थिङ सेवा प्रदान गरिने अध्यक्ष प्रसाईंले बताए ।