बनेपा - रसुवको केरुङ नाका बन्द भएपछि चीनसँगको सडक सम्बन्ध जोड्ने एकमात्र अरनिको राजमार्ग पनि बन्द भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी २ इकुमा विहीबार बिहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको हो ।

बिहीबार बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार इकुमा सडक माथिबाट पहिरो आएको र सडक तलसम्म भासिएको कारण सडक पूर्णरुपमा अबरुद्ध भएको हो । सिन्धुपाल्चोक प्रहरीले सडक खुलाउने बारेमा सडक विभागसँग समन्वय भइरहेको जनाएको छ ।

सडक पूर्णरुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान र एम्बुलेन्स पनि रोकिएका छन् ।

बुधबार मात्र केरुङ नाकामा रोकिएका पर्यटकहरुलाई कोदारी नाका हुँदै काठमाडौं पठाइएको थियो । चीनतर्फबाट आएको बाढीले केरुङ नाकाको संरचना भत्काइदिएपछि त्यस नाकाबाट नेपाल आउन लागेका पर्यटकहरुलाई सिन्धुपाल्चोकको कोदारी नाकाबाट भित्र्याइएको थियो ।

तर केरुङ र कोदारी(तातोपानी नाका दुवैतर्फको सडकमा क्षति भएपछि चीनसँगको सडक सम्पर्क विच्छेद भएको छ ।