काठमाडौं - मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक  दुर्गा प्रसाईं ४ दिन हिरासतमै बस्नु पर्ने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपछि प्रसाईं ४ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका थिए ।

प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसुर र अफवाह फैलाउन नपाउने कसुरमा पनि अनुसन्धान गर्न  जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

प्रसाईंले सरकारसँगको सम्झौता पुरा नभए अनिश्चित कालीन बन्द गराउने र चुनाव हुन नदिने अभिव्यक्ति दिँदै आएका छन् । यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । 

प्रसाईं त्यसअघि माघ ५ गते पनि पोखराबाट पक्राउ परेका  थिए ।