काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको अनियमिततामा दोषी देखिएका एक वन अधिकृतलाई भ्रष्टाचारको आरोपमा मुद्दा चलाएको छ ।

सुदूरपश्चिम वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टले रु ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा भ्रष्टाचार गरेको भन्दै सोही बराबरको रकम बिगो दाबी गरी अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विष्टले नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने, वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा उपभोक्ता समूहका साधारण सदस्यहरू र पदाधिकारीहरूको किर्ते दस्तखत गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रमअन्तर्गत रुख कटान गर्ने कार्यमा संलग्न रहेको अरोप छ ।

सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन ब्यवस्थापन अध्ययन उपसमितिले विष्टकविरुद्ध आयोगमा उजुरी दिएको थियो ।

विष्ट सेवामा आवद्ध भएको अवधि २०५५ वैशाख २७ देखि ०७७ कात्तिक १७ सम्ममा उनको स्रोत खुलेको वैध आय १७ करोड ३७ लाख १२ हजार ६ सय २९ रुपैयाँ ३८ पैसा रहनुपर्नेमा उनको लगानी र खर्च जम्मा २४ करोड २४ लाख ६९ हजार ७ सय ९ रुपैयाँ ९८ पैसा देखिन आएको आयोगद्वारा दायर आरोपपत्रमा उल्लेख गरिएको छ ।