काठमाडौं - चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले युरोप र अमेरिकालाई इपिसेन्टर बनाएको छ । सोमबार रातिसम्म संसारभर १२ लाख ९० हजार संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ७० हजार नाघिसकेको छ । अमेरिकामा मात्र तीन लाख ३७ हजार संक्रमित छन् ।

मृतकको संख्या नौ हजार ६ सय नाघेको छ । जब कि चीनमा करिब ८२ हजार संक्रमित हुँदा ३३ सयले ज्यान गुमाएका छन् । अहिले चीनमा नयाँ रोगी थपिने क्रम नगण्य छ ।

अमेरिकामा दैनिक २० हजारभन्दा बढीमा कोरोना भाइरस पोजेटिभ देखिइरहेको छ । गत मंगलबार पहिलोपटक एकैदिन आठ सयभन्दा बढीले ज्यान गुमाएको रिपोर्ट सार्वजनिक भयो । यो तथ्यांकले अमेरिकाको साँच्चिकै भयावह अवस्था दर्साएको छ । सुरुमा गम्भीर नबनेकै कारण यतिवेला अमेरिका कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्न पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमण जनवरीमा २२ मा देखिएको थियो । चीनले कोरोनाबाट अत्यधिक प्रभावित सहर वुहान लकडाउन घोषणा गरेको अघिल्लो दिन थियो त्यो । वुहान लकडाउन र अमेरिकामा भाइरस देखिएसँगै यहाँका जनस्वास्थ्य विज्ञदेखि मिडिया र विपक्षी डेमोक्र्याटिक नेतासम्मले गम्भीरतापूर्वक लिनुपर्ने आवाज उठाउन थालिसकेका थिए ।

तर, राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका लागि यो एउटा बनावटी समस्या मात्र थियो । उनी पटक–पटक कोरोना भाइरस अमेरिकामा पूर्ण नियन्त्रणमा रहेको र त्यसले कुनै प्रभाव पार्न नसक्ने दाबी गरिरहेका थिए । २८ फेब्रुअरीमा अमेरिकामा ६८ जना संक्रमित व्यक्ति फेला परिसकेका थिए । तर, ट्रम्पले एक चुनावी सभामा भने, ‘यसले (भाइरस)ले संकट ल्याउँछ भन्नु डेमोक्र्याट्सको नयाँ बनावटी हल्ला (होक्स) मात्र हो ।’

एकातिर ट्रम्पको राजनीतिलक्षित अभिव्यक्ति अर्कातिर भाइरस जाँचमा ढिलाइ भइरहेको जनस्वास्थ्य अधिकारीहरूको चिन्ताबीच ५ फेब्रुअरीपछि सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)ले देशका विभिन्न भेगमा जाँच उपकरण (टेस्ट किट)हरू पठाउन थाल्यो, तर तिनले सही नतिजा दिन सकेनन् ।

चीनलगायत सबै देशले शतप्रतिशत नतिजा दिने किट बनाइसक्दा पनि अमेरिका किन पछाडि छ भनेर विज्ञहरूले प्रश्न उठाए पनि ट्रम्प प्रशासनले तत्काल समाधान खोजेन । विश्व स्वास्थ्य संगठनले प्रयोग गरिरहेको प्रणाली लिएर जाँचमा तीव्रता दिन पनि ट्रम्प प्रशासनले आवश्यक ठानेन ।

केही नियमनकारी व्यवस्था हटाएर निजी अस्पताल र ल्याबलाई आफ्नै जाँच प्रणाली विकास गर्ने अनुमति पनि दिन सकिन्थ्यो, तर त्यो पनि गरिएन । नतिजास्वरूप कोरोना जाँचमा दक्षिण कोरिया, सिंगापुर र चीनभन्दा पछि पर्‍यो अमेरिका । भाइरसले देशभर विस्तारको मौका पायो ।

‘हामीले कोरोना भाइरसलाई व्यापक बन्न एकपछि अर्को अवसर दिइरह्यौँ,’ हार्भर्ड विश्वविद्यालयका सरुवा रोगविज्ञ विलियम हेनेजले केही समयअघि लेखेका थिए । फेब्रुअरीभरि नै ट्रम्प भाइरसले अमेरिकालाई प्रभाव नपार्ने र छिटै नियन्त्रणमा आउने दाबी गरिरहे । ‘जब अप्रिलमा केही न्यानो बढ्छ यो स्वतः नियन्त्रणमा आउँछ,’ १० फेब्रुअरीमा चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए । २३ फेब्रुअरीमा भाइरस पूर्णतया नियन्त्रणमा रहेको दाबी उनले फेरि दोहोर्‍याए । उनको निरन्तर भनाइको एउटै सार थियो, ‘कोरोना भाइरस सामान्यभन्दा सामान्य समस्या हो, यसले अमेरिकालाई केही गर्न सक्दैन ।’