काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज श्रमिक, मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै देउवाले यस्तो बताएका हुन् । उनले कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐनलगायतलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

नेपालका श्रमजीवीले अहिले पनि अनेक समस्या बेहोरिरहनु परेकाले बताउँदै उनले त्यसलाई समाधान गरिनुपर्नेमा जोड दिए । उनले भने, ‘श्रमजीवी वर्गको समस्यालाई समाधान गरेर हकहितको संरक्षण र सम्वर्द्धन गर्न तथा कार्य वातावरण, सामाजिक सुरक्षा, उचित ज्याला एवं पारिश्रमिक तथा पेसागत मर्यादा र सम्मानका लागि कांग्रेस क्रियाशील छ । यी समस्या समाधानमा सबै लाग्नुपर्छ।’

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु मजदुर आन्दोलनलाई मान्ने गरिएको शुभकामना सन्देशमा उल्लेख छ । देउवाले कांग्रेस र मजदुर सधैँ एक अर्कामा आबद्ध भएर एकअर्काका अनन्य सहयोगीका रूमा रहिआएको बताए।