संसद बैठक अवरुद्ध हुँदा ठूलो नोक्सानी भइरहेको छ : सभामुख घिमिरे
काठमाडौं-सभामुख देवराज घिमिरेले संसद बैठक अवरुद्ध हुँदा ठूलो नोक्सानी भएको बताएका छन् ।
बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध भएकाले ठुलो नोक्सानी पुगेको उनको भनाई थियो ।
लामो समयसम्म संसद अवरुद्ध हुँदा बजेटको कार्यसूचीमा छलफलमा भाग लिने सांसद सङ्ख्या घटाएर भएपनि विधिअनुसार बजेटमाथिको छलफल सक्नुपर्ने उनले बताए ।
राससद्वारा आयोजित ‘पवर्वतीय पर्यटन, हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि सभामुख घिमिरेले भने, ‘‘नोक्सानी हुने त भइसक्यो, अबको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ ।’
सभामुख घिमिरेले आजका लागि बोलाइएको संसद् बैठक सञ्चालन हुनेमा आफू ढुक्क रहेको पनि बताए ।
संसद् बैठक २ बजे बस्ने कार्यसूची छ । यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ ।
जेठ १५ गते विपक्षी दलहरूले बजेट ल्याउन बैठकमा अवरोध नगरेपनि त्यसयता भने बजेटमाथिको छलफल नै हुन सकेको छैन् ।
आजसम्म ११ पटक बैठक सरिसकेको छ । आजपनि बैठक बस्ने सम्भावना भने न्यून रहेको विपक्षी दलका नेताहरुले नै बताइरहेका छन् ।
१३ गते दुई पटक सरेको बैठक १४ गते पनि दुई पटक सर्यो । १५ गते बजेट ल्याउन विपक्षी दलहरूले दिएपनि त्यसपछि २० गते निर्धारित समयमा बैठक बस्न सकेन र एक पटक सरेर २१ गतेलाई राखियो ।
२१ गते एक पटक, २२ गते दुई पटक, २३ गते एक पटक र २५ गते दुई पटक गरेर ११ औं पटकसम्म प्रतिनिधि सभाको बैठक सर्दै आएको छ ।
माओवादी केन्द्रसहितका विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा जोडिएका गृह मन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् चल्न नदिने अडानमा छन् भने सत्तारुढ दलभित्र राजीनामा दिनु नपर्ने अडानका कारण संसद् अवरुद्ध हुँदै आएको छ ।
फेसबुक पेज Like गर्नुहोस