आज पनि राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं - आज पनि राष्ट्रिय सभा बैठक बस्दैछ । राष्ट्रिय सभाको सातौँ अधिवेशनको तेस्रो बैठक बानेश्वरस्थित सभा हलमा बस्न लागेको हो ।
दिउँसो १ बजे बस्न लागेको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७६/७७’ सभा समक्ष पेश गर्ने कार्यक्रम रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।
बिहीबार पनि राष्ट्रिय सभाको बैठक बसेको थियो । बिहीबारको बैठकको विशेष समयमा बोल्दै अधिकांश सांसदहरुले प्रतिनिधि सभा भंग गर्ने काम असंवैधानिक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको थियो ।
त्यस्तै, बामदेव गौतमलाई राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरिएको थियो । सोही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून न्याय तथा संसदिय मामिला मन्त्री लिलानाथ श्रेष्ठले मधेसी आयोगको वार्षीक प्रतिवेदन– २०७६/७७ सभासमक्ष पेश गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस