कैलाली - धनगढीमा बिहीबार साँझ भएको विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।

विस्फोटको जिम्मा लिँदै प्रतिबन्धित नेकपाका सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले शुक्रबार एक विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट भएको बताइएको छ ।

बिहीबार साँझ धनगढी उपमहानगरपालिका–४ मा भएको बम विस्फोटमा १ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते छन् ।

धनगढीको शहीदगेटस्थित निलम होटलमा भएको बम विस्फोटमा परि मृत्यु भएका रामबहादुर सिंह आफ्नो कार्यकर्ता भएको समेत प्रतिबन्धित नेकपाले स्विकारेको छ । यसअघि समाचारहरूमा जनाइएअनुसार प्रतिबन्धित नेकपा विस्फोटको जिम्मा लिएको थिए ।

प्राविधिक गढबढीको कारण बम विस्फोट भई रामबहादुर सिंहले ‘शहादत’ प्राप्त गरेको विज्ञप्तिमा जनाइएको छ । सिंहको भूमिगत नाम क। राजेश भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा यो दुःखद् घटनाको मूलकारण 'दलाल पूँजीवादी संसदीय व्यवस्था' भएको जनाउँदै यसको जिम्मा सरकारले लिनुपर्ने दाबी समेत गरिएको छ ।