६ महिनापछि मेयर बालेनले डाके प्रशासकीय अधिकृतसहितको कार्यपालिका बैठक
काठमाडौं - लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठक आह्वान गरेका छन्।
कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको बताइएको छ । कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने भएको छ ।
उक्त बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे कार्यपालिका बैठक बोलाइएको हो । बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ ।
मेयर बालेन र प्रमुख कार्यकारी अधिकृत बीचको असमझदारीका कारण काठमाडौं महानगरपालिकाले संविधानले तोकेको मितिमा बजेट ल्याउन सकेको छैन ।
मासिक कम्तीमा एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था भएपनि काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि मेयरले बैठक डाकेका थिएनन् ।
सोही प्रकरणमा मेयर साहले अनियमित रूपमा नक्सा पास गरेको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए । कार्यपालिका बैठक ६ महिनादेखि बस्न नसकेको हो ।
यो बीचमा गुरागाईँको उपस्थितिबिना नै बैठक राख्ने बालेनले प्रयास गरेका थिए । तर, उपमेयर र वडाध्यक्षहरूले प्रशासकीय अधिकृतविनाको बैठक गैरकानूनी हुने भन्दै मेयरमाथि दबाब बढाएका थिए ।अन्ततः प्रशासकीय अधिकृतसहितकै उपस्थितिमा बैठक राख्न मेयर राजी भएको महानगरपालिका स्रोतको दावी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस