काठमाडौं,संखुवासभा-बुधबारको अविरल वर्षाका कारण आइको बाढीले संखुवासभा जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बगाएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बुधबारको बाढीले भोटखोला वडा नम्बर १, २ र १, ३ जोड्ने धुङगोपा खोलाको १५र१५ मिटर लामो २ वटा काठेपुल बगाएको हो ।

त्यसैगरी बाढीले भोटखोलाको वडा नं. १ र ३ जोड्ने घङजुङमा खोलामा रहेको १५ मिटर लामो काठेपुल, छोकाङ छोकाङ खोलामा रहेको २० मिटर लम्बाइ भएको काठेपुल र माप्च्या खोलामा रहेको १५ मिटर लामो काठेपुल पनि बगाएको छ।

त्यसैगरी मकालु गाउँपालिका–२ मा अविरल वर्षासँगै आएको पहिरोले एउटा घरमा पूर्णरूपमा क्षति पुगेको छ । मंगलबार राति घरमाथिबाट खसेको पहिरोले स्थानीय फुनुर्बु शेर्पाको ढुङ्गा, माटो र काठले बनेको एक तले घर पूर्णरूपमा भत्किएको प्रहरीले जनाएको छ । पहिरोले मानवीय क्षति भएको छैन ।

१७ गते शनिबार आएको मुसलधारे वर्षाका कारण करिब ५० मिटर कच्ची सडक बगेको छ भने लघु जलविद्युत् आयोजना समेत बगेका छन् ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार १७ किलोवाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना पूर्णरूपमा बगाएको छ । सो आयोजनाबाट १६० घरधुरीमा विद्युत् आपूर्ति हुँदै आएको थियो ।

त्यस्तै, १२० किलोवाट क्षमताको हुङ्गुङ जलविद्युत् आयोजनाको मुहानसमेत बाढीले बगाएको अध्यक्ष भोटेले बताए । उक्त आयोजनाबाट २५० घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए ।