काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाँदै छन् ।

दाङ देउखुरीस्थित राप्ती नदीमा ६ महिनाअघि निर्माण सम्पन्न भएको नेपालको दोस्रो लामो पुल उदघाटन गर्न प्रधानमन्त्री ओली सोमबार दाङ जान लागेका हुन् ।

उक्त पुल तत्कालिन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए। ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो पुल हो । करिब एक अर्बको लागतमा पुल निर्माण गरिएको हो ।

त्यतिबेला प्रचण्ड पुल उद्घाटनका लागि पुग्दा तत्कालिन नेकपा एमालेले विरोध जनाउँदै उद्घाटन गर्न दिएको थिएन । तर, दुवै पार्टी एकिकरण भएपनि हाल प्रधानमन्त्री ओलीले गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दूई चिरामा विभाजन भएको छ । दुवै पक्षले एकले अर्कालाई कारबाही गरेका छन् । तर, निर्वाचन आयोगले भने दुवै पक्षलाई मान्यता नदिने निर्णय गरेको छ ।