काठमाडाैं - सिटामोल लुकाउने एक फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको छ । बजारमा अभाव भएको भन्दै बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने सातदोबाटोमा रहेको गोसाइंकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई विभागले १० हजार जरिवाना गरेको हो ।

विभागको छड्के अनुगमनको क्रममा ग्राहकलाई सिटामोल छैन भनेका थिए । तर, गोदाममा भने सिटामोल भेटिएपछि कारवाही गरिएको विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलले जानकारी दिए।

केही दिनदेखि ग्राहकलाई सिटामोल छैन भन्दै बिरामीलाई फर्काउँदै आएको थियो । विभागले १० हजार जरिवाना गर्नुका साथै सचेत समेत गराएको छ । औषधिजस्तो संवेदनशील वस्तुकाे कृत्रिम अभाव सिर्जना गराउन नपाउने उनको भनाइ छ ।

केही दिनयता ज्वरोका बिरामी बढेसँगै सिटामोलको माग उच्च भएको छ । त्यही मौकामा सिटामोल लुकाउने गरेको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीब्रता दिएको छ ।