काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटना गर्ने प्रधानमन्त्री ओलीको कदम गलत र भर्त्सनायोग्य भएको टिप्पणी गरेका छन्।

उनले प्रधानमन्त्रीले यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने बताएका छन्।

आम निर्वाचनबाट झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावनाविपरित विघटन गरेको भन्दै वरिष्ठ नेता गौतमले आपत्ति जनाएका छन्।

'गत आम निर्वाचनबाट झन्डै बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसद‍को कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैर संवैधानिक कदम गलत र भर्त्सनायोग्य छ,' उनले भनेका छन्,'यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्नेछ।'