काठमाडौं - संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दैछ ।

संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

सिंहदरबारमा बिहान ११ बजे बस्ने अर्थ समिति बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयबारे छलफल हुँदैछ ।

बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) र नेपाल उद्योग परिसङ्घ (सीएनआई)बीच छलफल हुनेछ । बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ ।

यस्तै, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० र सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

विकास, आर्र्थिक मामिला तथा सुशासन समितिमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबीच छलफल हुनेछ ।

यसैगरी, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुने कार्यसूची रहेको छ ।