काठमाडौं - आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ औपचारिक रूपमा सुरू भएको छ । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको २१ खर्ब २४ अर्ब रुपैयाँको वार्षिक बजेट आजबाट कार्यान्वयनमा आएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेपछि नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि कार्यान्वयनमा प्रवेश गरेको हो।
सरकारले चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरेको छ, जुन कुल बजेटको ६९.८ प्रतिशत हो। विकास निर्माण तथा पूर्वाधारका लागि पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ अर्थात् २०.३ प्रतिशत बजेट छुट्याइएको छ।
यस्तै, वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। यस शीर्षकअन्तर्गत सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीलगायतका दायित्व समेटिएका छन्।
बजेट कार्यान्वयनका लागि सरकारले १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
साथै ६१ अर्ब ६४ करोड रुपैयाँ वैदेशिक अनुदान, २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ वैदेशिक ऋण र ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने योजना बनाएको छ।

.gif)



