काठमाडौं - अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना (एमसिसी) परिमार्जनका लागि सहजीकरणको भूमिका खेल्ने बताएका छन् ।

बिहीबार संसदीय सुनुवाइका क्रममा खतिवडाले हाल भूमिका फेरिए पनि परिमार्जनका लागि सहजीकरणको भूमिका खेल्ने बताएका हुन् ।

एमसीसीलाई नेपालको हीतमा बनाउनका लागि कस्तो भूमिका खेल्नुहुन्छ भन्ने सांसदहरुको प्रश्नमा खतिवडाले भने ‘अहिले मेरो भूमिका परिवर्तन भएको छ । अर्थमन्त्रीका रूपमा हुँदा एसमीसीलाई पारित गराउनका लागि पहल गरेको थिएँ । अब परराष्ट्र मन्त्रालयले जे निर्देशन दिन्छ त्यो काम गर्ने हो । तर, एमसिसी पक्षधरसँग सम्पर्कमा रहेको छु । सहजीकरण गर्ने काममा मेरो भूमिका हुन्छ ।’

यस्तै, उनले आफूलाई व्यवसायिक व्यक्ति भएको दावी गर्दै यस्तो पदमा नभएर गुजारा नै नचल्ने होइन भने नभएको स्पष्ट पनि पारे । ‘मैले बुझेसम्म त्यहाँका राजदूतको प्रोटोकल मन्त्री सरह नै छ', खतिवडाले भने, 'जुन भूमिका दिइन्छ स्वीकार गर्नुको विकल्प छैन ।’