बंगलादेशमा शेख हसिनाको पार्टी निर्वाचन आयोगबाट प्रतिबन्धित
काठमाडौं - बंगलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन गरेको छ ।
नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले आइतबार अवामी लिगलाई प्रतिबन्ध लगाएपछि यो कदम आएको हो । यो प्रतिबन्ध गत वर्ष हसिनालाई अपदस्थ गर्न प्रेरित गरेको सामूहिक विरोध प्रदर्शनमा गरेको दमनको मुद्दाको फैसला नआएसम्म जारी रहने छ ।
अवामी लिग बंगलादेशको सबैभन्दा पुरानो राजनीतिक दल हो र यसले सन् १९७१ मा देशको मुक्ति युद्धको नेतृत्व गरेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ जुलाई–अगस्टमा हसिनाको सरकारले विपक्षीमाथि कारबाही गर्न क्रूर अभियान चलाउँदा एक हजार चार सय प्रदर्शनकारीको मृत्यु भएको थियो ।
७७ वर्षीया हसिना भारतमा स्व–निर्वासनमा छन् भने मानवता विरुद्धको अपराधको आरोपमा ढाकाबाट गिरफ्तारी वारेन्टको अवहेलना गरेकी छन् । बंगलादेश निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले गृह मन्त्रालयको सिफारिसका आधारमा अवामी लिगको दर्ता निलम्बन गरेको बताए ।
‘गृह मन्त्रालयले बंगलादेश अवामी लिग र यससँग जोडिएका संस्थाहरूको सबै प्रकारका संगठनात्मक गतिविधिहरूमा प्रतिबन्ध लगाएको छ’, उहाँले सोमबार राति पत्रकारहरूलाई भने, ‘त्यो निर्णयलाई निरन्तरता दिँदै निर्वाचन आयोगले आयोगमा अवामी लिगको दर्ता निलम्बन गर्ने निर्णय गरेको छ ।’
८४ वर्षीय युनुसले डिसेम्बरको सुरुमा र पछिल्लो समय जुन २०२६ सम्ममा संसदीय चुनाव हुने बताएका छन् । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आफ्नो कार्यवाही सम्पन्न नगरेसम्म पार्टी र यसका सम्बद्धहरूलाई र्याली र सम्मेलनसहित कुनै पनि राजनीतिक गतिविधि गर्न निषेध गर्ने निर्देशन पनि जारी गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस