काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् लगायतका विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी एक विज्ञप्तीमा भनिएको छ, 'संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार हो । प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ ।'

आइतबार काठमाडौंमा अपांगता भएका व्यक्तिहरुको समस्या र सवाल विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका थिए ।

कांग्रेसले प्रधानमन्त्री ओलीले अदालत र अधिवक्ता र पूर्व प्रधानन्यायाधीशहरुप्रतिको अभिव्यक्ति सभ्य समाजकै अपमान भएको बताएको छ ।

'सर्वोच्च अदालतमा भई रहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न हो । सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो । आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो ।' विज्ञप्तीमा भनिएको छ ।

प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउंदै लगेको कांग्रेसले बताएको छ । ओलीको यो प्रवृत्ति दुःखद मात्रै होईन, लज्जास्पद रहेको कांग्रेसको भनाई छ ।