काठमाडौं,धनगढी - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले पार्टी अध्यक्षद्वयको अन्तर विरोधका कारण पार्टी नफुट्ने दाबी गरेका छन् ।

प्रेस सङ्गठन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै पनि हालतमा पार्टी नफुट्ने ठोकुवा गरेका हुन् । ‘कसैले भन्दैमा पार्टी फुट्दैन,’ नेता रावलले भने,‘तर सरकार परिवर्तन हुन सक्छ । भदौ २६ गतेको स्थायी कमिटी बैठकबाट सङ्घीय र प्रदेश सरकार हेरफेर गर्ने निर्णय पनि भएको छ अव त्यसको कार्यान्वयन हुनुपर्छ ।’

‘प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’दुवै पार्टी फुटाउने योजनामा छैनन्,’ नेता रावलले थपे,‘पार्टी विधि र जनताको चाहाना अनुसार चल्न नसक्दा पार्टीभित्र अन्तर विरोध चर्किएको हो । पार्टी अध्यक्षहरू विधि प्रणालीबाट चल्नु पर्छ, विवाद सबै समाधान हुन्छ।’

पार्टी कुनै माटोको हाँडी नभएका कारण कुनै व्यक्तिले लट्ठीले हानेर नफुट्ने रावलले ठोकुवा गरे ।