काठमाडौं - साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको फैसला भएको छ  । जिल्ला अदालत मोरङले  मंगलबार गोरेसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको हो । 

न्यायाधीश भरत लम्सालको इजलासले आठजना प्रतिवादीलाई दोषी ठहर गरेकाेमा गोरेसहित टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले, लाक्पा शेर्पा र नरेन्द्र कार्कीलाई पनि जन्म कैदको सजाय सुनाएको छ । यो फैसलासँगै उनिहरूले २० बर्ष जेल बस्नुपर्ने भएको छ ।

साथै, दुई जनालाई भने तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ।   अपहरण तथा शरीर बन्धक मुद्दामा ‘गोरे’को कसुर कायम भएको छ । धमलाका अनुसार यसको सँजाय निर्धारणका लागि पुनः पेस गरिने छ । मुद्दाका प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सँजाय फैसला भएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीर जंग राणाले बताए । मुद्दामा दोषी ठहर भएकाहरू ‘गोरे’को समूहका सहयोगी र उनका सवारी चालकहरू हुन् । 

मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादीमध्ये उच्च प्रहरी अधिकारी र गोरेकी पत्नी निरु भानिने नर्वदा खरेलसहित ४८ जनाले सफाइ पाएको राणाले जानकारी दिए । मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सन्जेललगायत प्रहरी कर्मचारीलाई प्रतिवादी बनाइएको थियो । 

संगठित अपराध, भन्सार ऐन र अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा ४८ जनाले सफाइ पाएका हुन् । फरार रहेका २१ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार राणाले बताए । उनका अनुसार दुई वर्षसम्म अभियुक्त पक्राउ नपरेमा वा हाजिर नभएमा मुल्तवीमा रहेको मुद्दालाई जगाएर अदालतले फैसला गर्ने छ ।  

के हो सुन तस्करी प्रकरण ?

९ माघ ०७४ मा ‘गोरे’को समूहले दुबईबाट तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायव भएको थियो । सुन गायव बनाएको आरोपमा ‘गोरे’सहित उनको समूहले १८ फागुनमा ०७४ मा मोरङ उर्लाबारी नगरपालिका–१ का सनम शाक्यको करेन्ट लगाएर यातना दिँदै हत्या गरेको आरोप छ । 

हत्याको भोलिपल्ट विराटनगरबाट शाक्यको शवसहित बा१२च ५९६३ नम्बरको स्कर्पियो र मे१च ५३९८ नम्बरको कारसहित प्रहरीले चालकहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गर्याे । त्यो घटनाको अनुशन्धान गर्दा गोरेको योजना र ‘सेटिङ’ तथा अरु व्यापारीको लगानी र प्रहरी अधिकारीको सहयोगमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा करिब ३८ क्वीन्टल सुन तस्करी भएको खुलेको हो । 

तर, तस्करीको सुन भने बरामद हुन सकेन । प्रमाणका रुपमा पेस गर्नुपर्ने सुन बरामद नभएपछि तस्करीमा सम्लग्न भनिएकाहरूले मुद्दामा सफाइ पाएको बताइएको छ । 

जिल्ला अदालत मोरङमा १९ वैशाख ०७५ मा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो । सरकारी वकिल कार्यालय मोरङले दर्ता गरेको मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरेको थियो । त्यही बराबरको बिगो मागदावीसहितको मुद्दा दर्ता भएको हो । मुद्दाको अन्तिम सुनुवाइ अघिल्लो आइतबारबाट सुरु भएको थियो ।