काठमाडौं - भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ ।

बिहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक प्रेस नोट जारी गर्दै बुधबार बेलुका सरकारी निवास बालुवाटारमा रअ प्रमुखसँग शिष्टाचार भेट भएको पुष्टि गरेका हुन् । भेटमा प्रमुख गोयलले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको सल्लाहकार थापाले जानकारी दिएका छन् ।

‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो ।’ जारी प्रेस नोटमा भनिएको छ,  ‘भेटका क्रममा उहाँले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो ।’

बुधबार अपरान्ह इन्डियन एयर फोर्सको विशेष चार्टर्ड विमानबाट काठमाडौँ आइपुगेका गोयल बिहीबार बिहान १० बजे दिल्ली फर्किसकेका छन् ।