काठमाडौं - प्रहरीको गोली लागेर सिरहामा एक जनाको मृत्यु भएको छ। गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो।

प्रत्यदर्शीका अनुसार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। घाइतेको घाँटीमा गोली लागेको उनीहरूको भनाइ छ। मृतक र घाइते दुवैको पहिचान खुलेको छैन। 

सिरहाको गोलबजारमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोल चलाएको बताइएको छ। 

जिल्ला प्रशासन कार्यालय, सिरहाले लहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी गरेको छ । 

प्रशासनले जारी गरेको विज्ञप्ति अनुसार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी भएको हो ।

यसअघि पूर्व–पश्चिम राजमार्गको पूर्व तर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ गोलबजार–६ सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ को क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो ।

प्रशासनले अर्को सूचना जारी गर्दै लहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी भएको जनाएको छ।

प्रशासनका अनुसार लहान नगरपालिकाको पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वति खोला ९बाटिका होटल पश्चिम० सम्म र दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गको ५०० मिटर क्षेत्रसम्म वरिपरिको क्षेत्रमा कर्फ्यू लगाइएको बताएको छ ।