एजेन्सी - कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बुधबार एसियाभन्दा युरोपमा बढी पुगेको एएफपीलाई प्राप्त आधिकारिक तथ्यांकमा उल्लेख गरिएको छ ।

ग्रीनवीच समयअनुसार बुधबार बिहान ११ बजेसम्मको तथ्यांकमा युरोपका बढी प्रभावित मुलुकहरू इटली, स्पेनलगायत मुलुकमा तीन हजार ४ सय २१ जनाको मृत्यु भएको जनाइएको छ भने एसियामा संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या तीन हजार तीन सय ८४ रहेको छ। 

प्राप्त तथ्यांकअनुसार बुधबार बिहानसम्म विश्वभर संक्रमण पुष्टि भएका व्यक्तिको संख्या एक लाख ९४ हजार पुगेको छ भने आठ हजार ६ जनाको मृत्यु भएको छ।भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु चीनमा भएको छ। युरोपमा इटलीमा भएको छ। चीनमा बुधबारसम्ममा मृत्यु हुनेको संख्या तीन हजार दुई सय ३७ पुगेको छ।

इटलीमा दुई हजार पाँच सय तीन जनाको मृत्यु भएको छ भने अर्को बढी प्रभावित युरोपेली मुलुक स्पेनमा पाँच सय ९८ व्यक्तिको भाइरस संक्रमणपछि मृत्यु भएको छ। जोन हपकिन्ज विश्वविद्यालयको अनुसन्धान केन्द्रको तथ्यांकअनुसार विश्वभर बुधबारसम्म दुई लाख एक हजार ४ सय ३६ व्यक्तिमा संक्रमण पुष्टि भएको छ। 

चीनबाहिर उक्त भाइरस संक्रमितको संख्या एक लाख २० हजार तीन सय ३४ पुगेको छ भने चीनमा ८० हजार ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ। चीनपछि बढी संक्रमित संख्या इटलीमा ३१ हजार ५ सय ६ जना रहेको छ। त्यस्तै इरानमा १६ हजार १ सय ६९ पुगेको छ। इरानमा ९ सय ८८ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ।