काठमाडौं - निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ।

आयोगले फागुन १० गते सूचना जारी गर्दै राजनीतिक दल वा उम्मेदवारले धातु, काठ वा अन्य यस्तै सामग्रीबाट बनेका भौतिक चुनाव चिन्ह बोकेर प्रचार गर्न नपाउने जनाएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनाव चिन्ह ‘घण्टी’ बजाउँदै प्रचारप्रसार गरिरहेको र त्यसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको गुनासो आएपछि आयोगले यस्तो स्पष्टिकरण दिएको हो।

आयोगको निर्णयसँगै अब रास्वपाले अवलम्बन गरिरहेको घण्टी बजाउँदै गर्ने प्रचार शैली परिवर्तन गर्नुपर्ने भएको छ। यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)० ले रास्वपाको उक्त प्रचार शैलीविरुद्ध विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी सूचनामा भनिएको छ,'प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा भाग लिने राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिक स्वरूपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसार नगर्न तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा तोकिए बमोजिमको मापदण्डअनुसार दलको झण्डा र चुनाव चिन्हको माध्यमबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने ।'

आयोगले आम सुरक्षालाई ध्यानमा राख्दै प्रचारका क्रममा भौतिक वस्तुको प्रयोग नगर्न विशेष निर्देशन दिएको छ।