काठमाडौं - निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई कडा निर्देशन दिएको छ।

सोमबार ९फागुन ११० आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरिएको छ। आयोगले बालअधिकारको संरक्षण र निष्पक्ष निर्वाचन वातावरण कायम राख्न यस्तो निर्देशन दिएको जनाएको छ।

निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) मा स्पष्ट रूपमा निर्वाचन प्रचारप्रसार, आमसभा, जुलुस वा कुनै पनि प्रकारका चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ। आयोगले हाल केही स्थानमा बालबालिकालाई झण्डा बोकाउने, नाराबाजी गराउने तथा प्रचार सामग्री वितरणमा संलग्न गराउने जस्ता गतिविधि देखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

आयोगले आचारसंहिता उल्लंघन गरेमा कडा कारबाही हुने चेतावनीसमेत दिएको छ। 'निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाइएमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था रहेको छ,' विज्ञप्तिमा भनिएको छ।

yk-1771848369.jpg