झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणका क्रममा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरिएको बताएका छन् ।

स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले अनावश्यक हल्ला चलाएको उनको भनाई थियो ।

आज झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै उनले विरोधी र अराजक तत्त्वले अरू कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको बताए ।

यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको उनको भनाई थियो ।

विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ ।

प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रङ्गशाला निर्माण हुने घोषणा पनि गरे ।