काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेश सरकारको विवाद समाधान गर्न आज पनि छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको छलफलमा अध्यक्षद्वयबीच कर्णाली प्रदेश सरकारको विवाद समाधान कसरी गर्ने भन्नेबारे मतान्तर देखिएको स्रोतले बताएको छ ।

छलफलमा प्रधानमन्त्री ओलीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रस्ताव दर्ता भएपछि उनले गरेका निर्णय पनि उल्टिने गरी समाधान निकाल्नुपर्ने बताएका थिए भने कार्यकारी अध्यक्ष प्रचण्डले चाहिँ प्रदेशको विवाद प्रदेश कमिटीले नै मिलाउनु उचित हुने जवाफ दिएका थिए ।त्यसपछि अध्यक्षद्वयबीच मत बाझिएको हो ।

सांसद यामलाल कँडेलको अगुवाइमा प्रदेशका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद सतहमा आएको थियो । विवाद समाधानका निम्ति अध्यक्षद्वयले कर्णालीका केही नेताहरूलाई काठमाडौं बोलाएका थिए । कर्णालीबाट काठमाडौं आएका नेताहरूसँग अध्यक्षद्वय ओली र प्रचण्डले छुट्टाछुट्टै छलफल गरेका थिए ।