कश्मीरमा भारतविरोधी गतिविधि नगर्न इमरान खानको अपिल
एजेन्सी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरमा हुने भारतविरोधी गतिविधिमा संलग्न नहुन पाकिस्तानी नागरिकलाई सचेत गराएका छन् ।
खानले बुधबार टोरखामा बोल्दै भारतविरोधी गतिविधिमा पाकिस्तानी नागरिक संलग्न भएमा सोही बहानामा भारतले काश्मिरी नागरिकमाथि थप दमन र धडपकड गर्ने बताएका हुन् । जम्मू(कश्मीरमा हुने भारतविरोधी गतिविधिमा पाकिस्तानी नागरिक संलग्न भएमा त्यसले काश्मिरी नागरिक नै समस्यामा पर्ने खानको भनाई थियो ।
‘यदि कुनै पाकिस्तानी नागरिकले भारत प्रशासित जम्मू(कश्मीरमा भएर भारतविरुद्ध गतिविधि गर्यो भने त्यसको पहिलो शिकार काश्मिरी नागरिक हुनेछन्’, खानले भने, ‘यस्तो गतिविधिमा संलग्न व्यक्तिले काश्मिरी नागरिकविरुद्ध काम गरेको साबित हुनेछ ।’
त्यस्तै भारतले जम्मू-कश्मीरमा दमन गर्ने बहाना खोजिरहेको भन्दै खानले भने, ‘हाल जम्मू(कश्मीरमा ९० हजार भारतीय सुरक्षाकर्मी परिचालन गरिएको छ र भारतले त्यहाँका नागरिक आफ्नो साथमा छन् र आतंकवादीहरु पाकिस्तानबाट आइरहेका छन् भनेर देखाउन चाहन्छ ।’
‘यदि जम्मू-कश्मीरमा कुनै आतंकवादी गतिविधि भए त्यसको दोष पाकिस्तानलाई दिन्छ र सोही बहानामा दमन र अत्याचार गर्नेछ’, खानले थपे ।
भारतले जम्मू-कश्मीरमा लगाएको कर्फ्यु नहटाएसम्म र अनुच्छेद ३७० खारेज गर्ने कदमबाट पछि नहटेसम्म मोदी सरकारसँग आफूले वार्ता नगर्ने समेत खानले प्रस्ट पारे ।
पछिल्लो समय भारत र पाकिस्तानबीच वाकयुद्ध बढेको छ । जम्मू-कश्मीरमा हुने आतंकवादी गतिविधिमा पाकिस्तानको हात रहेको भारतको आरोप छ । तर पाकिस्तानले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।
अत अगस्ट ५ मा भारतीय सरकारले जम्मू-कश्मीरलाई दिँइदै आएको विषेशाधिकार खारेज गरेपछि भारत र पाकिस्तानबीचको तनाव गहिरिँदै गएको छ । आणविक शक्ति सम्पन्न दुबै मुलुकबीच तनाव चर्किँदै जाँदा यसले क्षैत्रीय शान्तिमा खलल पुर्याउन सक्ने चिन्ता समेत बढेको छ ।
फेसबुक पेज Like गर्नुहोस