चितवन - पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको छ। 

चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि टेलिभिजन प्रस्तोता लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन प्रहरीलाई पाँच दिन म्याद दिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले तीनैजनालाई शुक्रबार दिउँसो अदालतमा पेश गरिएपछि पाँच दिनको म्याद मिलेको बताए।  प्रहरीले रविसहित तीनैजनालाई काठमाडौंबाट पक्राउ गरेको थियो।

रवि र युवराजलाई प्रहरीले पानीपोखरीस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेर मध्यराति चितवन पुर्याएको थियो। 

त्यस्तै नर्स ‘अस्मिता’ उपनामकी रुकु कार्कीलाई पनि राजधानीबाटै बिहीबार दिउँसो पक्राउ गरिएको थियो। शुक्रबार चितवनमा रविको समर्थक भन्दै केहीले जिल्ला प्रहरी कार्यालय र २४ कोठीमा प्रदर्शन गरेका थिए। त्यसक्रममा ५ जना पक्राउ परेका थिए। 

पत्रकार पुडासैनीले साउन २० गते चितवनको भरतपुरस्थित एक होटेलमा आत्महत्या गरेका थिए। नुवाकोटका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै उनीहरूले नै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएको थियो।