काठमाडाैं - चितवनमा ट्रक र स्कुटर एक-आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी भरतपुर महानगरपालिका–२६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्ने १९ वर्षीय राजिव गुरुङको मृत्यु भएको प्रहरीले बताएकाे हाे । दुर्घटनामा घाइते भएका उनीहरूको उपचारको क्रममा साेमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

अतिथि पार्टी प्यालेसनजिकै भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको हो । ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका ३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।