काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार बिरुद्ध आज देशभर विरोध प्रर्दशन गरेको छ । कांग्रेसले काठमाडौसहित देशका ७७ वटै जिल्लाका सदरमुकाममा विरोध प्रर्दशन गरेको हो ।वाइडवडी विमान खरिद काण्ड, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त हत्या र सरकारका क्रियाकलाप बिरुद्ध कांग्रेसले प्रदर्शन गरेको हो ।

काठमाडौमा रत्नपार्कस्थित शान्तिबाटिकामा प्रर्दशन गरिएको थियो । विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले निर्वाह गरिरहेको जिम्मेवार प्रतिपक्षको भूमिकालाई कमजोरी नठान्न चेतावनी दिए ।

जनविरोधी क्रियाकलाप जारी राखे दुई तिहाईको दम्भ बोकेको सरकारलाई जनताले जुनसुकै समयमा पनि ठेगान लगाउने उनको भनाइ थियो । विरोधसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य नविन्द्रराज जोशीले कम्युनिष्टहरुलाई मुसाको संज्ञा दिँदै जनता ढाँट्न नछोडे कुनै पनि बेला सरकार ढल्ने बताए ।

यस्तै पूर्व सभामुख तारानाथ रानाभाटले सरकारलाई ठेगान नलगाएसम्म सडक संघर्ष जारी राख्न आग्रह गरे । विरोधसभा अघि शान्तिवाटीकाबाट सुरुभएको ¥याली पुतलीसडक, शहीदगेट, सुन्धारा हुँदै पुनः शान्तिबाटीकामा पुगेर सभामा परिणत भएको थियो ।