काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका शीर्ष नेताहरूसहित सोमबार राष्ट्रपति कार्यालय शीतल निवास पुगे। राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलमा बसे। त्यस क्रममा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका विषयमा चासो राखेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

‘नागरिकताको बारेमा राष्ट्रपतिजीका केही जिज्ञासाहरू थिए। राष्ट्रपतिजीले नागरिकता विधेयकबारे चासो राख्नुभएको थियो’, सञ्चारमन्त्री कार्कीले भने, ‘राष्ट्रपतिजीको जिज्ञासामा प्रधानमन्त्रीजीले जवाफमा केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि ल्याएको नागरिकता अध्यादेशलाई नै अहिलेको सरकारले विधेयकका रूपमा ल्याएको बताए।’

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्बाङ, रामबहादुर थापा र महासचिव शंकर पोखरेलले सोमबारै राष्ट्रपतिसँग भेट गरे। अध्यक्ष केपी शर्मा ओली भने व्यस्तताका कारण शीतल निवास जान नसकेको जनाइएको छ। एमाले उपाध्यक्ष नेम्बाङले राष्ट्रपतिको मुख्य चासो नागरिकता विधेयक भएको स्पष्ट पारे। २००९ सालदेखि उठ्दै आएको नागरिकताको विषयलाई सदाका लागि टुंग्याउनुपर्नेमा राष्ट्रपतिको चासो र चिन्ता रहेको नेम्बाङले सुनाए। 

‘राष्ट्रपतिको मुख्य कन्सर्न नागरिकता विधेयककै विषय थियो। उहाँले नागरिकताको विषयले आक्रान्त बनाएको छ। यसमा हामी सबै संलग्न छौं। २००९ सालदेखि यो विषय उठ्दै आएको छ। यो विषय सदाका लागि टुंग्याउनुपर्छ भन्ने उहाँको चासो चिन्ता थियो’, नेम्बाङले भने। 

राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने सन्देशसहित साउन २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन्। उक्त विधेयक प्रतिनिधिसभाले पुनः हुबहु पारित गरेपछि राष्ट्रियसभामा पुगेको छ। राष्ट्रियसभाले भने विधायन समितिमा पठाएको छ। सोही विधेयकबारे थप छलफल गर्न र निर्वाचनका विषयमा जानकारी लिन प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरूलाई छलफलमा बोलाएकी थिइन्।

मन्त्री कार्कीले अनागरिक भएकाहरूलाई नागरिकता दिन यो विधेयक बनाएको सुनाए। ‘दुवै सदनबाट पारित गरेर यहाँ पठाइएको थियो। फिर्तापछि पनि प्रतिनिधिसभाबाट पारित भइसक्यो। यो विधेयक राष्ट्रियसभामा पुगेको छ’, उनले भने, ‘ओलीजीकै सरकारले अध्यादेशका रूपमा ल्याएकै विषय अहिले विधेयकका रूपमा ल्याएको हो केही फरक छैन।’

राष्ट्रपति भण्डारीले चुनावका बारेमा पनि चासो दिँदै ‘निर्वाचन तोकिएकै समयमा  निष्पक्ष ढंगले चुनाव होस् भन्ने राष्ट्रपतिको सदीक्षा थियो’, मन्त्री कार्कीले भने, ‘प्रधानमन्त्री देउवाले चुनाव निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने कुरामा विश्वस्त हुन राष्ट्रपतिजिलाई भन्नुभएको छ।’

अन्नपूर्ण पोष्ट दैनिकबाट