काठमाडौं-नेपाल विद्युत प्राधिकरणले रसुवामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको जनाएको छ ।

प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट नै बाढीले बगाएको छ ।

त्यस्तै सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्केका कारण आवतजावत बन्द छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभए पनि गेग्रान थुप्रिएको छ । पावरहाउसमा भने क्षति नभएको उनले बताए ।

त्यस्तै ६० मेगावाट क्षमताको त्रिशूली ३ ए आयोजनामा भएको क्षतिको विवरण आएको छैन । तर भवनमा बाढी पसेको छ । त्रिशूली ३ बी सबस्टेसनलाई हिलोले छोपेको छ । आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।

त्यस्तै चिलिमेको पावरहाउसमा पानी छिरे पनि क्षति भने नपुगेको उनले बताए । त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बाढीले बगाएको उनले जानकारी उनले दिए ।

यी आयोजनाको उत्पादन बन्द भएकाले त्रिशूली करिडोरमा रहेका प्राधिकरणका आयोजनाको कुल २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यसैबीच, धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशूली नदी किनारमा मंगलबार बिहान अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ का अनुसार एक आफन्तको बिहान ५ बजे निधन भएपछि शवलाई चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गरिँदै थियो, बिहान साढे ९ बजेतिर त्रिशूली नदीमा अचानक बाढी बढेपछि जलिरहेको शवको अवशेषसहित चिता नै बगायो ।

उनले भने–‘शव त लगभग जलिसकेको अवस्था थियो, चिता भने अझै बाँकी थियो। त्यही बेलामा बाढी आएर बगायो ।’

वडा नम्बर ७ का अध्यक्ष कुमार बस्नेतले चिता बगाएको दृश्य कैद गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।

सोमबार राति आएको बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ ।

सोही बाढीको प्रभाव त्रिशूली नदीमा पनि देखिएको हो ।