काठमाडौं - अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमानअमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

सो विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेको बताइएको छ । प्राप्त जानकारी अनुसार अहिलेसम्म १८ जनाको शव फेला परेको छ ।

बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नदीमा खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ । स्थानीय समय अनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको घटनाको अनुसन्धान सुरु गरिएको छ ।

दुर्घटनापछि ठूलो संख्यामा आकस्मिक बलका सदस्यहरू विमानस्थलमा पुगेका छन्। घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स र ट्रकपनि रहेका छन् । रेगन एयरपोर्टले सामाजिक सञ्जाल एक्समा एक सूचना जारी गर्दै लेखेको छ, ‘तत्कालका लागि सबै उडान स्थगित गरिएको छ ।’

एक अमेरिकी सैनिक अधिकारीले अमेरिकी समाचार च्यानल सीबीएसलाई बताएअनुसार दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर थियो । हेलिकप्टरमा अमेरिकी सेनाका ३ जना सैनिक सवार थिए । हेलिकप्टरमा कुनै वरिष्ठ अधिकारी थिएनन्, तर त्यसमा सवार सैनिकको अवस्था पनि स्पष्ट छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै भनेका छन्, ’रेगन नेसनल एयरपोर्टमा भएको दुर्घटनाबारे मैले पूर्ण जानकारी पाएको छु, अवस्थाको अनुगमन भइरहेको छ ।’ उनले यस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै अगाडि भनेका छन्, ‘मृतकका आत्मालाई भगवानले शान्ति प्रदान गरुन् ।’