काठमाडौं, एजेन्सी - अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । उनका चिकित्सक डा. केभिन कोनरले सो कुराको जानकारी दिएका छन् । उनले शुक्रबार जो बाइडेन र उनकी श्रीमतीको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका हुन् ।

डा. केभिनले एक विज्ञप्ति प्रकाशन गरेर भनेका छन्, ‘बाइडेन र उहाँका श्रीमतीको पिसिआर परीक्षणमा उहाँहरु दुवै जनामा कोरोना भाइरसको संक्रमण देखिएन ।’ डा. केभिनको सो विज्ञप्ति पछि बाइडेनले आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन्, ‘मेरी श्रीमती जिल र मेरो कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ, हामीलाई खुशी लागेको छ ।’

यसअघि गत बिहीबार मात्र गरिएको परीक्षणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने कोरोना भाइरस पोजेटिभ आएको थियो । त्यसपछि उहाँलाई अस्पताल नै भर्ना गरिएको छ । उहाँलाई अरु केही दिन अस्पताल बस्नुपर्ने उनका निजी चिकित्सकहरुले सुझाव दिएका छन् ।