काठमाडौं, एजेन्सी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग– नवाजका नेता नवाज सरिफलाई स्वदेश फिर्ता गर्ने बारेमा बेलायतका प्रधानमन्त्रीसँग वार्ता गरिने बताएका छन् ।

उनले पाकिस्तानको एक सञ्चारमाध्यमलाई शुक्रबार दिएको अन्तर्वार्ताका क्रममा सो कुरा बताएका हुन् । उनले सो अन्तर्वार्तामा भनेका छन्– नवाजलाई स्वदेश फिर्ता गर्ने विषयमा पाकिस्तानका प्रधानमन्त्री वोरिस जोनसनसँग वार्ता पनि गर्न सकिन्छ, त्यसका लागि हामीले सोचिरहेका पनि छौँ ।

उनले तर नवाज सरिफलाई लन्डनबाट पाकिस्तान फिर्ता गर्ने काम भने निकै बिलम्ब हुनसक्ने बताएका थिए । त्यस अन्तर्वार्तामा उनले भनेका छन्– हुनत यो प्रक्रिया लामो पनि हुनसक्छ, तर पनि आवश्यक पर्यो भने हामी वार्ता गर्नेछौँ र हामी बेलायतका सरकारी अधिकारीहरुसँग निरन्तर रुपमा सम्पर्कमा नै रहेका छौँ ।

पाकिस्तान सरकारले पाकिस्तानका नेता नवाज सरिफलाई पक्राउ गर्ने तयारी गरिरहेको बताएको थियो । तर नेता सरिफ भने हाल लन्डनमा बस्दै आएका छन् । हामीले आवश्यक परेमा उनलाई स्वदेश फर्काउने बारेमा आवश्यक मात्रामा वार्ता गर्ने छौँ, आवश्यक पर्यो भने म आफै नै पनि त्यहाँ गएर प्रधानमन्त्री जोनसनसँग वार्ता गर्न सक्छु ।

तर हालैमात्र बेलायतले भने पाकिस्तानको आन्तरिक राजनीतिमा आफू कुनै पनि प्रकारले संलग्न नहुने बताएको थियो । पाकिस्तानका अधिकारीहरुले यो प्रतिक्रिया दिएको केही दिनभित्र नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने आफूले बेलायत सरकारसँग वार्ता गर्ने धारणा सार्वजनिक गरेका हुन् ।