काठमाडौं-नेपाली कांग्रेसभित्र चर्को विरोध हुँदाहुँदै नेकपा एमालेसँग मिलेर बनेको सरकारमा परराष्ट्रमन्त्री बनेकी कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले आफ्नो कार्यकालको ३२.०६ प्रतिशत समय विदेश भ्रमणमा बिताएकी छन् ।

कांग्रेसका केही नेताले राणालाई मन्त्री बनाउनु नहुने अडान राखेका थिए भने केही नेताले भने गठबन्धन बनाउन प्रमुख भूमिका निर्वाह गरेको भन्दै मन्त्रालय दिनुपर्ने अडान राखेका थिए । अन्ततः उनले परराष्ट्र मन्त्रालय नै पाइन् ।

बल्लतल्ल मन्त्री बनेकी राणा चाहिनेभन्दा बढी विदेश भ्रमणमा निस्किएको भन्दै आहिले चौतर्फी विरोध शुरु भएको छ ।

परराष्ट्रमन्त्री राणाले साढे १० महिनाको अवधिमा १३ देशको भ्रमणमा १८ पटक निस्केकी छन् । उनले कुनै देशमा तीन–तीन पटक भ्रमण गरेकी छन् । कार्यभार सम्हालेयता परराष्ट्रमन्त्री राणाले १०४ दिन विदेश भ्रमणमा बिताएकी छन् ।

उनी २०८१ असार ३१ गते परराष्ट्रमन्त्रीमा नियुक्त भएकी थिइन ।

पछिल्लो पटक उनी गएराति हङकङको चारदिने भ्रमण पूरा गरेर फर्किएकी छन् ।

२०८१ साउन ३१ गतेदेखि २०८२ जेठ १२ गतेसम्मको अवधिमा परराष्ट्रमन्त्री राणाले भारत, क्यानडा, अमेरिका, कतार, चीन, नेदरल्याण्ड्स, जर्मनी, बेल्जियम, लक्जेम्बर्ग, थाइल्यान्ड, ओमान, स्वीट्जरल्याण्ड र जापानको भ्रमण गरेकी छन् ।

यस अवधिमा उनी भारत तीन पटक, थाइल्याण्ड तीन पटक र चीन दुईपटक पुगेकी छन् ।

२०८१ फागुन अन्तिम साता परराष्ट्रमन्त्री राणा १२ दिनको लागि भारत गएकी थिइन् । फागुन २६ देखि चैत ८ गतेसम्म भारतमा बिताइन् ।

उनले २०८१ पुसमा १४ दिन युरोपको भ्रमण गरेकी थिइन् । पुस २ गतेबाट सुरु भएको भ्रमणका क्रममा उनी नेदरल्यान्ड्स, जर्मनी, बेल्जियम र लक्जेम्बर्ग पुगेकी थिइन् ।

युरोप भ्रमणबाट फर्किदा पनि उनी भारतमा छिरेकी थिइन् । नेपालबाट युरोप भ्रमणमा जाँदा उनको भारत जाने कार्यक्रम बनेको थिएन ।

२०८१ भदौ ३१ गते परराष्ट्रमन्त्री राणा एकैपटक तीन देश– क्यानडा, अमेरिका र कतारको भ्रमणमा निस्केकी थिइन् ।

उनी लगातार १९ दिन विदेशमा रहिन् । क्यानडाबाट सुरु भएको उनको भ्रमण कतार हुँदै नेपाल आई टुङ्गेको थियो । उनी असोज १८ गते नेपाल फर्केकी थिइन् ।

परराष्ट्रमन्त्री राणा व्यत्तिगत कारण देखाउँदै २०८१ माघ ५ देखि १५ गतेसम्म ११ दिन थाइल्याण्डमा बिताएकी थिइन् ।