काठमाडौं-सहकारी ठगीमा पक्राउ परेकी सांसद माया राईलाई म्याद थपेर अनुसन्धान गरिने भएको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद राईविरुद्ध म्याद थप गरेर अनुसन्धान गरिने भएको हो ।

शनिबार राति आफ्नै निवास कपनबाट पक्राउ परेकी राईलाई म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदै छ ।

आइतबार म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यसअघि, दुई महिना लामो अनुसन्धान सकेर परिसर काठमाडौंले राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा समेत कार्यरत थिइन् ।